वी.पी. अध्ययन प्रतिष्ठानको सहयोग चिसाखोला वेद विद्याश्रमलाई
गंगासागर उपाध्याय/रामनाथ अधिकारी संगी |वी.पी. अध्ययन प्रतिष्ठान पोखरा महानगर समितिले मंगलबार सदस्य उर्मिला थापा पन्थीको संयोजकत्वमा एक कार्यक्रमका बीच पोखरा चिसाखोला वेद विद्याश्रमका आवासीय वटुकलाई पोशाक हस्तान्तरण गरेको छ । साथै प्रतिष्ठानका अध्यक्ष प्रभा पौडेल सुवेदी र महासचिव सञ्जिता गौतम न्यौपानेले विद्यार्थी भोजनमा ४ हजार दान सहयोग गर्नुभएको छ ।
वेद विद्याश्रमको प्राङ्गणमा भएको कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस क्षेत्र नं. ३ का सभापति पोषनाथ शर्मा पौडेलले अहिलेको अवस्थामा वैदिक ज्ञानको खाँचो बढ्दै गएको भन्दै विद्यार्थीहरुलाई लगनशील भएर अध्ययन गर्न आग्रह गर्नुभयो । साथै व्यक्तिगत तथा पार्टीकातर्फबाटसमेत निरन्तर सहयोग रहने वचन दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष प्रभा पौडेल सुवेदीले वैदिक संस्कार, संस्कृतिको संरक्षणमा लागेको वेद विद्याश्रममा आएर सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आ–आफ्नो स्थानबाट धर्म संरक्षणमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
वेद विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले वेद विद्याश्रमको गतिविधि माथि प्रकाश पार्दै, दाता संस्था एवं संस्था परिवारलाई धन्यवाद दिनुभयो ।
प्रतिष्ठानका महासचिव सञ्जिता गौतम न्यौपानेले संचालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक तथा प्रतिष्ठानका सदस्य उर्मिला थापा पन्थी, उपाध्यक्ष तारा तिमिल्सिना, पवित्रराज बराललगाएतले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्याश्रमका वटुकहरुले वैदिक स्वस्तिवाचनद्वारा दाता संस्था परिवारको उत्तरोत्तर उन्नतिको कामना गरेका थिए ।