लकडाउनको प्रभाव पूजा सामग्री दोकान/ज्योतिषीमा पनि
डा सीता रेग्मी/धना शर्मा |गत चैत्र २१ गतेदेखि लगातार हुँदै आएको नेपालको लकडाउनको प्रभाव अरु पेशा व्यवसायीमा के कस्तो प¥यो ? अन्य पत्रकारले लेखलान् धर्म र ज्योतिषबारे प्राथमिकता साथ लेख्ने ज्योतिष भविष्यवाणीको एक सर्वे अनुसार पूजा सामग्री दोकान तथा ज्योतिषीमा धेरै प्रभाव परेको पोखरा–२ विन्ध्यवासिनी मार्ग–१ पूजा सामग्री बिक्रेता रामप्रसाद तिवरी बताउनु हुन्छ ।
लकडाउन खुल्दा होटल, रेष्टुराँ, किराना दोकान, फेन्सी दोकान, भाँडा दोकान खुल्ने तर हिन्दू धर्मावलम्बीका आस्थाका धरोहर मन्दिरहरु नखुल्ने किन हो ? तिवारीको अनुहारले सोधिरहेको पाइयो । आफूँ, श्रीमती तुलसी तिवारी, छोरा अभिषेक र अशोक तिवारी चारजनाको परिवारको सामुहिक पेशा पूजा सामग्री दोकान हो तर पोखरा–२ स्थित विन्ध्यवासिनी मन्दिर गत चैत ११ गतेदेखि आज असोज २१ गते बुधवारका दिनसम्म बन्द गरिनुले रामप्रसाद तिवारीको परिवार पीडित हुन परेको उहाँ बताउनु हुन्छ ।
नरिवल, पूजा सामग्री सडेर खेर गए, ऋण काढेर भरिएको सामान बिक्री गर्न नपाएपछि साहूको व्याज र घरधनीको भाडा कसरी तिर्ने ? उहाँ बताउनु हुन्छ । पोखरा–२ विन्ध्यवासिनी मार्गलाई ज्योतिषी गल्लीभन्दा फरक पर्दैन अहिले । नाग चढेर आखत हेर्ने तान्त्रिक तथा त्रिपाठी ज्योतिष परामर्श केन्द्र सबैमा लकडाउनको प्रभाव गहिरो परेको ज्योतिषी सोमनाथ त्रिपाठीले बताउनु भयो ।
अंग्रेजीमा एम.ए. अध्ययन गरेर अंग्रेजी बोर्डिङ क्याम्पसमा अंग्रेजी पढाउने योग्यता भएका त्रिपाठीले आफ्ना त्रिपाठी वंशको ज्योतिष परम्परालाई थाम्न ज्योतिष र धर्मको जगेर्ना गर्न, ज्योतिष परामर्श सेवा रोज्नु भयो, आफ्नी श्रीमतीलाईसमेत धर्म र ज्योतिष शिक्षाको बाटो लगाउनु भयो ।
राजनीतिक पार्टीका सयौं नेपालबन्द, चक्काजाम जस्तै आँधीवेहरीलाई झेल्दै आउनु भएका त्रिपाठी नेपाल सरकारको मन्दिर बन्द गर्ने प्रवृत्ति विरुद्ध आक्रोशित हुनुहुन्छ । धेरै ठाउँमा अंग्रेजी पढाएर धेरै पैसा कमाइन्थ्यो होला तर आफूँलाई ज्योतिष र धर्मको सेवा गर्न लेखेको रहेछ । त्यसकारण यसै पेशामा सन्तुष्ट छु भन्ने त्रिपाठीको पेशामा पनि लकडाउनले ठूलै मार पारेको उहाँ बताउनु हुन्छ । श्रीमान् श्रीमती दुवै ज्योतिषी रहेका त्रिपाठी नेपाल ज्योतिष परिषद्मा पनि सक्रियरुपमा आवद्ध हुनुहुन्छ ।