पाङमै देखियो ज्योतिषीको अभाव
डा प्रदीप रेग्मी |नेपाली ज्योतिष विज्ञानको इतिहासमा पर्वत जिल्लाको पाङ गाउँ विशेष महत्व राख्दछ । विगत २३ सय वर्षदेखि अविछिन्न रुपमा जैँसीथर भएका रिजालहरुको एकलौटी ज्योतिष क्षेत्रमा एकाधिकार रहेको पाङ पछिल्ला दिनमा योग्य ज्योतिषीको अभाव भोगिरहेको भुक्तभोगी बताउँदछन् ।
कास्कीको हेमजा पोखरा–२५ निवासी शिवबहादुर रेग्मीले आफ्नो जन्म गाउँ भ्रमण गर्नेक्रममा जे देख्नुभयो उहाँलाई आफँैलाई चित्त दुखेछ, आफ्नै गाउँमा योग्य ज्योतिषी एउटै पनि भएको नदेख्दा ।
पर्वत जिल्लाको पाङ टाहार भन्ने ठाउँमा ज्योतिषी खगराज रिजाल ज्योतिष परामर्श दिने, पढाउने कार्य गरिरहनु भएको छ तर उमेरको ८१ मा चल्दै गरेकाले धेरै लामो समय सेवा दिन सक्ने अवस्था छैन । त्यस्तै पर्वत खुर्कोट–२ बगैँचा बाँस्तोलाथर निवासी योगराज बाँस्तोला ज्योतिष परामर्श दिइरहनु भएको छ तर उमेरको ७८ पार गरिसकेकाले र आफ्ना छोराछोरीमा सक्षम उत्तराधिकारी नभएकाले विगत सातपुस्तादेखि आफ्नो खानदानमा चलिआएको ज्योतिष परामर्श अब समाप्त हुने अवस्थामा आएको छ ।
पर्वत खुर्कोट–४ निवासी ज्योतिषी शेषकान्त रेग्मी जसलाई तारा रेग्मीका नामले पनि चिनिन्छ । युवा ज्योतिषीमा उहाँ अब एकमात्रै रहनु भएको छ । जसकहाँ म्याग्दी, बाग्लुङ, बलेवा, दुर्लुङ्ग चारैतिरबाट व्यक्तिहरु हात हेराउन आउँछन् तर चिना बनाउने हेर्ने विधा शेषकान्तको नभएकाले हस्तरेखामात्र हेरी चित्त बुझाउन सेवाग्राही बाध्य छन् ।
पर्वत खुर्कोट–२ निवासी ज्योतिषी फणिन्द्र बाँस्तोला सामान्य हेरकोर गर्नुहुन्छ तर उहाँको उमेर पनि ७० पार भइसकेको छ । त्यसकारण उच्च पढेलेखेका व्यक्तिहरु सहरतिर बसाइँ सर्ने गरेपछि पर्वतको पाङ ज्योतिष शिक्षामा आँफै पछि परेको बताउनु हुन्छ शिक्षक प्रिन्सिपल शिव रेग्मी ।