पाकिस्तानमा गरिँदैन ग्रहशान्ति

डा बलराम उपाध्याय रेग्मी |विश्वका ५० मुश्लिम बाहुल्य राष्ट्रमध्येको एक पाकिस्तानमा कसैको पनि ग्रहशान्ति गरिँदैन । बाहिर–बाहिर ज्योतिष पढ्नु–पढाउनु, परामर्श दिनु अपराधपूर्ण कार्य मानिए तापनि भित्र–भित्र जो कसैले ज्योतिष परामर्श लिने कार्य गरे तापनि ग्रहशान्ति गराउने कार्य कसैको गरिँदैन इस्लामावाद निवासी ज्यो. सना राजपूतले बताउनु भयो ।

कसैले पनि चिना लेख्ने, न्वारनको नाम ज्योतिषशास्त्र अनुसार नराख्ने भए तापनि जब ठूलो समस्यामा पाकिस्तानी पर्दछन् तब ट्यारो कार्डवाला ज्योतिषी खोजेर भए पनि परामर्श लिन्छन् तर उपायको नाममा अल्लाहसँग दुवा माग्नु होला, म पनि दुवा मागी दिन्छु तपाईंको काम सफल हुनेछ भनेपछि हेराउन आउने ढुक्क भै जाने गरेको महिला ज्योतिषी राजपूत बताउनुहुन्छ ।

कुनै पनि नयाँ काम गर्दा मुहूर्त हेराइदिन, शुभसाइत सोधेर काम गर्ने चलन छैन, भाग्यमा विश्वास पनि कसैले गर्दैनन् तर पनि चुनाव लड्नु प¥यो, कुनै विपत्ति आइलागे ज्योतिष परामर्श लिन आइहाल्छन् सना बताउनु हुन्छ । १५ मिनेट ज्योतिष परामर्शको पाकिस्तानी मुद्रामा पाँचसय रुपैयाँ शुल्क लिने महिला ज्योतिषी सना राजपूतसँग पाकिस्तानको ईस्लामावाद शहरभरिबाट दैनिक दुईदेखि ४ जना आएकै हुन्छन् । अनलाइनमा रातभरि ज्योतिष परामर्श दिएर दिनभरि सुत्ने महिला ज्योतिषी पाकिस्तानजस्तो देशमा मासिक २५–३० हजार कमाउनु हुन्छ ट्यारोकार्डकै भरमा ।