कृतघ्न होइन, कृतज्ञ हुन सिकौं।/Pradeep Regmi’Aayushman’
कृतज्ञता भनेको एउटा यस्तो महान् गुण हो, जसको अर्थ आफूँप्रति गरिएको सहायताका लागि उसकाप्रति सम्मान प्रकट गर्नु हो । हामी अप्ठ्यारो परिस्थितिमा कसैले हाम्रो सहयोग गरिदियोस् भन्ने चाहन्छौं र त्यस्तो सहयोग प्राप्त भइसकेपछि हाम्रो मनमा ऊ व्यक्तिप्रति सम्मानको भावना प्रकट हुने गर्दछ। कहिलेकाहीँ तपाईं यस्तो भूमरिमा परिराख्नु भएको हुन्छ जहाँबाट निस्कन तपाईंलाई असम्भव जस्तो लाग्छ र तपाईंका मनमा कसैले मद्दत गरिदियो भने म ऊप्रति जीवनभर कृतज्ञ रहिरहने थिएँ भन्ने भावनाहरु जाग्छन् र त्यहि बेला संयोगबस कुनै व्यक्तिले त्यो भूमरिबाट तपाईंको उद्धार गरिदिन्छन् । अब तपाईंको मनमा जीवनभर ऊ व्यक्तिप्रति कृतज्ञता रहिरहने छ । कृतज्ञता मानिसको सर्वोत्कृष्ट विशेषतामध्ये एक हो । यसले हामीलाई के सिकाउँछ भने यदि कसैले हाम्रो मद्दत गर्छ भने यदि हामीले उसका लागि केही गर्न अर्समर्थ छौं भनेपनि कमसेकम हृदयदेखि नै आभार प्रकट गर्नुपर्छ । जसले मद्दत गर्छ ऊ व्यक्तिको हामी सदैव ऋणी हुन्छौं त्यहि ऋणदेखि मुक्त हुने उपाय भनेकै कृतज्ञता ज्ञापन गर्नु हो ।
गीतामा भगवान् श्रीकृष्ण भन्नुहुन्छ-“देवताहरुले विभिन्न माध्यमले मानिसको कल्याण गर्छन्, तिमीहरु पनि देवताहरुकै लागि यज्ञ गर यस प्रकार निःस्वार्थ भावले तिमीहरु एक
अर्काको कल्याण गर ।” गीताको यो श्लोकमा कृतज्ञताको स्वरुप स्पष्ट रुपमा भनिएको छ । जसले हामीलाई परेको बेला केही सहयोग गर्छ उसको बदलामा सक्छौ भने केही दिनुपर्छ, सकिँदैन भने कृतज्ञता ज्ञापन गर्नुपर्छ ।
अहिलेको परिवेशमा यो गुण हामीभित्र भए पनि हामी आफ्नो स्वार्थी भावले गर्दा यो गुणलाई बाहिर ल्याउन सकेका छैनौं । हामी कसैले गरेको सहयोगमा पनि शङ्काको
नजरले हेर्ने गर्छौं। शङ्का र आफ्नो स्वार्थभावका कारण हामी कृतज्ञ होइन, कृतघ्न बन्छौं ।
हामी आमा, बाबाले गरेको सहयोगलाई भुल्छौं, दाजुभाइले गरेको सहयोगलाई भुल्छौ, दिदीबहिनीले आफ्ना लागि गरेको त्यागलाई भुल्छौं । समाजले लगाएको गुणलाई बिर्सन्छौं । साथीभाइले गरेको सहयोगलाई भुल्छौं । यी सबैमध्येपनि सबैभन्दा निःस्वार्थभावले हामीलाई गुण लगाउने प्रकृतिलाई अपमान गर्छौं।
अनि कृतघ्न को हो? कृतघ्न त्यो हो जसले कसैले लगाएको गुण र सहयोगको सम्मान गर्दैन । कसैले आफ्ना लागि गरेको त्यागको सम्मान गर्दैन । यसमा हामी सबै दोषी छौं । कसैले जानी बुझी कृतज्ञता ज्ञापन गर्दैनन् भने कसैले भूलवश तर दुवै नै उत्तिकै दोषी हुन । चाहे त्यो पति होस्, पत्नी
होस्, आमा, बा, दाइभाइ, सरकारी जागिरे, सांसद होस् अथवा प्रधानमन्त्री र राष्ट्रपति ।
हामी कसैले पनि अरुले गरेको सहयोगको सम्मान गर्न सकेनौं। कृतघ्नले जति जे कमाओस् तर ऊ कहिल्यै पनि सन्तुष्ट हुन सक्दैन । ऊ जहिले पनि आफूँप्रति गरेको
सहयोगलाई शङ्काको आँखाले हेर्छ र भन्छ- “उसकोप्रति नै नराम्रो भयो।” उसले सबैभन्दा बढी नराम्रो उसैको चाहन्छ जसले उसका लागि सबभन्दा बढी त्याग गरेको छ । यस्ता
मानिसहरुको अन्त्यमा सबैले सहयोग गर्न छाडिदिन्छन् र अन्त्यमा पश्चातापको रापले पोल्छ तर चाहे जे उपाय गरे पनि त्यो पश्चातापको राँको शान्त हुँदैन । त्यहि भएर
यदि तपाईंलाई कसैले सहयोग गर्छ भने ऊप्रति तपाईं कृतज्ञ हुनुहोस् कृतघ्न होइन।